देवचुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना गम्भीर घाइते
नवलपुर, २८ साउन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१७ स्थित झरहेखोलामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
आज बिहान करिब १०:५५ बजे डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख २३०३ नम्बरको बसले बेल्डिहाबाट रजहरतर्फ आउँदै गरेको ग. प्र. ०४–००२ प ४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक कावासोती नगरपालिका–१२ का ३५ वर्षीय हेमलाल लामिछानेको उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा दिउँसो १२:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, स्कुटरमा सवार स्याङ्जाको रापाकोट स्थायी घर भएका ६७ वर्षीय लीलाधर चापागाईं घाइते भएका छन् । उनको पनि नयाँ मेडिकल कलेज चितवनमै उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस, स्कुटर र बस चालक देवचुली नगरपालिका–१४ बस्ने ४२ वर्षीय ध्रुवनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























