चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
चितवन । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका-१ स्थित तरकारी चोकमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१-०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दिउँसो करिब १२:२३ बजे भएको उक्त दुर्घटनामा परि मोटरसाइकल चालक अन्दाजी ३०-३२ वर्षका पुरुष र पछाडि सवार अन्दाजी २५-२६ वर्षकी महिला गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते दुवै जनालाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो। तर, उपचारका क्रममा मोटरसाइकल चालक पुरुषको दिउँसो १:५५ बजे र पछाडि सवार महिलाको २:०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। प्रहरीले बस र बस चालक सर्लाहीको हरिवन नगरपालिका-८ बस्ने ५१ वर्षीय अजय कुमार मास्केलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।



















