एमाले केन्द्रीय कमिटी बैठक सुरु
चितवन, ३१ असोज । नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटीको बैठक तेस्रो दिन पनि जारी रहेको छ। बैठक ललितपुरको जावलाखेलस्थित पार्टी कार्यालयमा सुरु भएको हो।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, आजको बैठकमा असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य तथा पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्नेछन्।
यसअघिका सत्रहरूमा करिब २०० केन्द्रीय सदस्यले आफ्नो मत राखिसकेका छन्। आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटीका सदस्य र पदाधिकारीहरूले पनि तीन–तीन मिनेटको समयसहित आफ्ना विचार प्रस्तुत गर्नेछन्। स्थायी कमिटी र पदाधिकारी गरी ९९ जना नेताले धारणा राख्ने कार्यतालिका रहेको छ।
सबैको धारणा सुनेपछि अध्यक्ष ओलीले प्रस्तुत प्रतिवेदनमाथि आएका सुझावहरूको एकमुष्ट जवाफ दिने र त्यसपछि बैठक समापन गर्ने तय गरिएको छ।
अध्यक्ष ओलीले पार्टीको आगामी दिशा, वर्तमान राजनीतिक परिस्थिति, तथा नेता–कार्यकर्ताको भूमिकाबारे निर्देशन दिनेछन्। साथै, आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



















