यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपाल र अमेरिका आमनेसामने
चितवन, ०९ कार्तिक । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाबीचको खेल आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने तय गरिएको छ। केही दिनअघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबारदेखि लिग–२ का महत्त्वपूर्ण खेलमा उत्रँदैछ।
रोहित पौडेलको कप्तानीमा नेपालले यूएई र अमेरिकासँगको शृङ्खलाका खेल खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक टोलीमा परिवर्तन गर्दै सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राखी भीम सार्की, शाहब आलम र अनिल साहलाई मौका दिएको छ।
यूएईमा हुने लिग–२ का यी खेल आइतबारदेखि कात्तिक १९ गते (बुधबार) सम्म चल्नेछन्। दोस्रो खेलमा नेपालले कात्तिक १३ गते बिहीबार यूएईसँग, तेस्रो खेलमा कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेलमा कात्तिक १९ गते बुधबार फेरि यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
अहिलेसम्म लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अंकसहित सातौं स्थानमा छ। समान खेल खेलेको यूएईको ६ अंक रहेको छ र ऊ आठौं स्थानमा छ। त्यस्तै, २० खेल खेलेको अमेरिका २८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ।

























