माइक्रोबस दुर्घटनामा १७ जना घाइते
प्रकाशित मिति: आइतबार, कार्तिक २३, २०८२ | ८:०७:५५
चितवन, २३ कार्तिक । सिरानचोक गाउँपालिका–४ चोरकाटेको घुम्तीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ जना यात्रु घाइते भएका छन्। भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टि रहेको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।
दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन्। घाइते भएका अन्य अधिकांश यात्रु चितवनको खैरेनी नगरपालिकाका रहेको खुलिएको छ।
दुर्घटनाको खबर पाएसँगै प्रहरीले घटनास्थलमा पुगेर सबै घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको अधिकारी श्रेष्ठले जानकारी दिए। दुर्घटनाग्रस्त माइक्रोबसमा १९ जना यात्रु सवार रहेका थिए।
प्रकाशित मिति : आइतबार, कार्तिक २३, २०८२ |
८:०७:५५
507
























