खामेनी मारिएको खबरपछि इरानको चेतावनी: अमेरिका र इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गर्ने घोषणा
चितवन, १७ फाल्गुण । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य अड्डा र इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । आईआरजीसीले जारी गरेको विज्ञप्तिमा इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले कब्जा गरिएका क्षेत्र तथा अमेरिकी अड्डाहरूविरुद्ध शक्तिशाली क्षेप्यास्त्र प्रहार सुरु गर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा उक्त सैन्य अभियान शत्रु निर्णायक रूपमा पराजित नभएसम्म निरन्तर जारी रहने र क्षेत्रभर रहेका अमेरिकी सम्पत्तिलाई वैध लक्ष्य मानिने चेतावनी दिइएको छ।
अमेरिका–इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको खबर सार्वजनिक भएपछि यस्तो चेतावनी आएको बताइएको छ। इरानका उपविदेशमन्त्री हमिद घनबारीले अल जजीरासँग कुरा गर्दै इरानलाई आत्मरक्षाको अधिकार रहेको र हालको सैन्य तनावका कारण हुन सक्ने मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा खामेनीसँगै उनका परिवारका सदस्यहरू पनि मारिएका छन्। शनिबार भएको हवाई हमलाबाट खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको दाबी गरिएको छ।
जवाफस्वरूप इरानले शनिबार नै इजरायलतर्फ झन्डै ४०० क्षेप्यास्त्र प्रहार गरेको तथा कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईस्थित अमेरिकी अड्डाहरूलाई पनि निशाना बनाएको जनाएको छ। साथै यूएईको दुबई सहरमा समेत क्षेप्यास्त्र प्रहार गरिएको उल्लेख गरिएको छ।



















