भदौ पूर्णिमादेखि मिथिलामा पितृपक्षको प्रारम्भ
चितवन,२२ भाद्र । मिथिलामा भाद्र शुक्ल पूर्णिमाको दिनदेखि नै पितृपक्ष सुरु हुने परम्परा रहिआएको छ। असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि मैथिल परम्पराअनुसार आज देवर्षि पितृलाई तर्पण दिँदै पूर्वविधि सुरु गरिएको हो।
महोत्तरीका पण्डित महेशकुमार झाका अनुसार भाद्र शुक्ल चतुर्दशीका दिन ‘नौकेश’ (नङ र कपाल काट्ने विधि) गरी कूलदेवता, ग्रामदेवता र देवर्षिलाई आमन्त्रणा गरिन्छ र पूर्णिमाका दिन तर्पण दिइन्छ। यही तर्पणसहित पितृपक्षको आरम्भ भएको मानिन्छ। भोलिदेखि असोज कृष्ण प्रतिपदादेखि आफ्ना दिवङ्गत आफन्तका नाममा श्राद्ध र तर्पण दिने क्रम सुरु हुन्छ।
पितृपक्षमा दुई प्रकारका श्राद्ध हुन्छन्। सामान्यतया दिवङ्गत पितृलाई सम्झना गर्दै ‘पार्वण श्राद्ध’ वा महालय श्राद्ध गरिन्छ, जसमा आफ्ना घर र मावलीतर्फका तीन–तीन पुस्ता, अन्य आफन्त र गुरुका नाममा पिण्ड अर्पण गर्ने परम्परा छ। अर्को ‘एकोपार्वण श्राद्ध’ भने पितृको मृत्यु तिथिमा गरिन्छ, जसमा दिवङ्गत पितृलाई एकोदिष्ट पिण्ड चढाइन्छ।
मिथिलामा प्रायः पितृपक्षका तर्पण तीर्थस्थलमा गर्ने चलन छ। महोत्तरीको जलेश्वरस्थित भृगु आश्रम नजिकैको भार्गवसर, जलेश्वरनाथ मन्दिर क्षेत्र, मटिहानीको लक्ष्मी सागर, रातु, मरहा, बाँके, कुटमेश्वरीसहितका नदी–तालमा आज पहिलो दिन सामूहिक तर्पण गर्न भक्तजनहरूको भीड लागेको छ। तीर्थस्थलमा एक पुरोहितले सामूहिक सङ्कल्प पढेर श्रद्धालुलाई तर्पण गराउने चलन छ।
असोज कृष्णपक्षलाई मैथिली भाषामा ‘पितरपक्ष’ वा ‘सोह्रश्राद्ध’ पनि भनिन्छ। यस अवधिमा पितृहरू स्वर्गलोकबाट पृथ्वीमा ओर्लने विश्वास रहेको छ। त्यसैले सन्तानले दिएको तर्पण र पिण्डलाई पितृहरूले प्रत्यक्ष ग्रहण गर्ने मान्यता छ। यसै विश्वासका कारण पितृपक्षभर विभिन्न तीर्थस्थलमा लाखौँ मानिस श्राद्ध गर्न पुग्छन्।
यस अवधिमा घरपरिवारका साथै मातृपक्ष, गुरु, दिवङ्गत राष्ट्रप्रमुख र नजिकका अन्य आफन्तलाई पनि तर्पण दिने परम्परा छ। पूर्णिमासहित १६ दिनका श्राद्ध भएकाले यसलाई ‘सोह्रश्राद्ध’ भन्ने गरिएको हो।
दसैँ, तिहार र छठजस्ता मुख्य पर्वअघि पितृहरूको सम्झना र तर्पण गरे परिवारमा विघ्न नपर्ने र पितृ तृप्त हुने धार्मिक विश्वास छ। यस्तै, विवाह, व्रतबन्ध वा यज्ञयज्ञादि जस्ता माङ्गलिक कार्य अघि पनि नान्यमुखी श्राद्ध गर्ने परम्परा चलिआएको छ।



















