मुस्लिम समुदाय आज ईद उल फित्र पर्व मनाउँदै: विशेष नमाज, आशीर्वाद र दीन-दुःखीलाई दानको परम्परा जारी
चितवन, ०७ चैत्र । मुस्लिम समुदाय आज ईद उल फित्र पर्व मनाउँदै छन्। हिजरी पात्रो अनुसार नवौँ महिनामा निराहार व्रत (रोजा) पूरा गरेपछि मुस्लिम धर्मावलम्बीले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिन्छन् र यो पर्व मनाउने परम्परा छ।
विशेष नमाज पाठ सकेपछि तीन दिनसम्म ठूलो वा आस्थावान व्यक्तिबाट आशीर्वाद लिने चलन छ भने सानालाई आशीर्वाद दिने परम्परा पनि हुन्छ। यस अवसरमा आफन्तलाई सेवाई, खजुर र अन्य मीठा परिकार खुवाउने चलन छ।
खुसीपूर्वक दान गरेर दीन-दुःखी र गरीबलाई मद्दत गर्ने परम्परा यस पर्वको अर्को महत्वपूर्ण पक्ष हो। यही कारण यसलाई ईद उल फित्र भनिन्छ। नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि पर्व मनाउने मिति तय हुन्छ, मुस्लिम धर्मावलम्बी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिए।
शनिबार बिहान नेपाली जामे मस्जिद, घन्टाघरमा विशेष नमाज पाठ गरिनेछ। त्यसपछि ठूलाबडाकहाँ गएर आशीर्वाद लिने क्रम सुरु हुन्छ। देशभरका मस्जिद र इदगाहहरूमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ।
मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख भए अनुसार यस पर्वमा प्रत्येकले आफ्नो वर्षभरिको बचतको करिब २.५ प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्छ। यस दानलाई जकात भनिन्छ र दीन-दुःखी तथा गरीबलाई वितरण गरिन्छ।
ईद उल फित्रमा व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबर नगद दान गर्छन्। बच्चा जन्मिनुअघि आमाको पेटमा पनि यो दान गरिनुपर्छ।
मुस्लिम समुदायले यो पर्वको अवसरमा नयाँ कपडा लगाएर साथीभाइ र आफन्तसँग भेटघाट गरी इदको शुभकामना आदानप्रदान गर्छन्।

























