धनकुटामा आठपहरिया समुदायको बिसु (बैशाखे चाड) धुमधामका साथ मनाइँदै
चितवन, २९ चैत्र । धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आफ्नो प्रमुख सांस्कृतिक पर्व बिसु (बैशाखे चाड) यतिबेला धुमधामका साथ मनाइरहेको छ। नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व यसपटक तिथिको घटबढका कारण चैत महिनामै परेको हो।
रामनवमी पछिको दोस्रो सोमबारदेखि सुरु भई आठ दिनसम्म मनाइने यो चाडलाई आठपहरिया समुदायले वर्षकै पहिलो तथा महत्वपूर्ण पर्वका रूपमा लिने गरेको किराँत आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिनुभयो।
पर्वअन्तर्गत पहिलो दिन भूमिपूजा, दोस्रो दिन मार्गाथानको सरसफाइ र लिपपोत, तेस्रो दिन कुखुरा र सुँगुरको बलि, चौथो दिन राँगा–सुँगुरको भोज, पाँचौँ दिन पितृपूजा तथा छैटौँ दिन सामूहिक वनभोज आयोजना गर्ने परम्परा रहेको छ। सातौँ दिन “ताराआप्मा” अर्थात् धनुषबाण प्रतियोगिता र आठौँ दिन मार्गाथानमा विशेष पूजा गरी पर्वको समापन गरिन्छ।
किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टबहादुर आठपहरियाका अनुसार यस पर्वपछि भदौरे (न्वागी) र मंसिरे (वाडाङ्मेट) चाड पनि विशेष रूपमा मनाइन्छ, जसमध्ये वाडाङ्मेटलाई सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ। समुदायले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गर्दै आए पनि हालसम्म त्यसको सुनुवाइ हुन नसकेको बताइएको छ।















