कम्युनिष्टलाई टुटाउन कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री कोइराला
चितवन, १९ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले नेपाली काँग्रेस सरकारमा सहभागी हुनुपर्ने बताउनुभएको छ । बुधबार बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महान्त्री कोइरालाले नेकपा टुटाउनका लागि भए पनि कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताउनुभएको हो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभयो । कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानको अर्थ नभएको उल्लेख गर्दै कोइरालाले नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्ने बताउनुभयो । आफूहरु सरकारमा जानुभन्दा पहिले नै नेकपा टुट्छ भने सरकारमा गएर केही उपलब्धि नहुने धारणा राख्नुभयो ।
उहाँले सबभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिनुभयो । प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने कोइरालाको दावी थियो ।