केपी ओलीलाई प्रधानमन्त्रीबाट कसैले हटाउन सक्दैन : नेता बस्नेत

चितवन, १९ फागुन ।
पूर्व मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीलाई कसैले पनि पदबाट हटाउन नसक्ने बताउनुभएको छ । बुधबार चितवनको भरतपुरमा आयोजित राष्ट्रिय यूवा संघ नेपाल चितवनको कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेले केपी ओलीले चाहेको अवस्थामा मात्रै उहाँ प्रधानमन्त्रीबाट बाहिरिन सक्ने बताउनुभएको हो ।
नेता बस्नेतले नेपाली राजनीतिको दृश्य परिवर्तन भए पनि पात्र परिवर्तन नभएको भन्दै नेपाली राजनीति केपी ओलीको वरिपरी घुमेको र लामो समयसम्म घुम्ने दावी गर्नुभयो । ‘नेपाली राजनीतिको पात्रको कुरा गर्दा जसरी भारतको कलाकारिता सलमान खानलगायतका विभिन्न नायकको वरिपरी तथा नेपालको कलाकारिता राजेश हमाल तथा अन्य नायकको वरिपरी घुमेको छ’ बस्नेतले भन्नुभयो, ‘त्यसरी नै नेपालको राजनीति राजनेता केपी ओलीको वरिपरी घुमेको छ र लामो समयसम्म घुम्नेछ ।’
उहाँले संसद्बाट केपी ओलीको बहिर्गमन महाभारतका पात्र भिष्म पितामहको जस्तो भएको बताउनुभयो । ‘संसद्मा केपी ओलीको बहिर्गमन भिष्म पितामहको जस्तो हुनेछ’ नेता बस्नेतले भन्नुभयो, ‘भीष्म पितामहको मृत्यु इच्छा मरण भएको जस्तै केपी ओलीले पनि यो प्रधानमन्त्रीको पदबाट केपी ओलीले चाहेमा बाहेक कसैले हटाउन सक्दैन ।’ नेता बस्नेतले नेपाली कम्युनिष्ट आन्दोलनको एकताको प्रकृयाबाट प्रचण्ड–माधव समूह फालिएका बताउनुभयो । दूधमा ढुबेको झिंगा तरमा बसेको हुने उल्लेख गर्दै नेता बस्नेतले त्यो तरबाट झिंगा झिकेर फालिए जस्तै कम्युनिष्ट आन्दोलनको एकता प्रकृयाबाट प्रचण्ड–माधव फालिएका बताउनुभयो ।
‘दूधमा ढुबेको झिंगा तरमा बसेको हुन्छ र त्यो तरबाट झिकेर फालिन्छ’ नेता बस्नेतले भन्नुभयो, ‘त्यस्तैगरी कम्युनिष्ट आन्दोलनको एकताको प्रकृयाबाट प्रचण्ड र माधव नेपाल फालिएका हुन् ।’ एकता विरोधी तत्वबाहेक सबै शक्तिहरु कम्युनिष्ट आन्दोलनको एकताको अभियानमा समावेश हुने समेत बस्नेतको भनाइ थियो । ‘यो अभियानमा प्रचण्डसँग असहमति राख्दै पूर्व लडाकु, बहिर्गमित सेना, सहिद परिवार मात्रै होइन प्रचण्डले आफ्नो होनहार भनेर ठानेका धेरै नेताहरु यो अभियानमा सहभागी हुँदैछन्’ नेता बस्नेतले भन्नुभयो ।
यसैबीच, राष्ट्रिय यूवा संघ नेपाल चितवनको ५०१ सदस्यीय कमिटी घोषणा गरिएको छ ।सुशील केसीको संयोजकत्वमा राष्ट्रिय यूवा संघ नेपाल चितवनको जिल्ला कमिटीसँगै सात वटै स्थानीय तहका संयोजक र सहसंयोजक तोकिएको छ । जिल्ला कार्यलय समितिसमेतको जिम्मेवारी सुम्पनेगरी संयोजक केसी सहित सहसंयोजकमा शंकर अधिकारी, आशिक तामाङ, भलबहादुर पाख्रिन, युगदर्शन चापागाईं र प्रकाश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।