खैरहनीमा प्रथम वडा स्तरीय भलिवल प्रतियोगिता
चितवन , २० पौष । खैरहनीमा प्रथम वडा स्तरीय भलिवल प्रतियोगिता आजबाट सुरु भएको छ । खैरहनी नगरपालिका र खैरहनी नगर खेलकुद विकास समितिको आयोजना तथा नगर भलिवल संघको समन्वयमा संचालन भएको प्रतियोगितामा खैरहनीका ९ वडा वडाबाट खेलाडीहरु सहभागी भएका छन् ।
प्रतियोगिताको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्द्धाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले नगर खेलकुद विकास समितिमार्फत नगरपालिकाले विभिन्न खेलकुदको गतिविधि अगाडी बढाएको बताए । पछिल्लो समय लागुऔषध दुव्र्यसनी बढेको भन्दै खेलकुदको माध्यमबाट युवाहरुलाई विकासको काममा अगाडी बढाउने निति नगरपालिकाले लिएको उनले बताए । अहिले युवाहरु सामाजिक संजाल र मोबाइलमा व्यस्त हुने गरेको भन्दै खेलकुदको माध्यमबाट बाहिरी गतिविधिमा अगाडी आउनुपर्नेमा नगर प्रमुख खनियाँले जोड दिए ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फ आज भएका खेलहरुमा वडा नम्बर ९,वडा नम्बर १२, वडा नम्बर १३ र वडा नम्बर ४ विजयी भएका छन् । वडा नम्बर ३ र ९ बिच भएको खेलमा वडा नम्बर ९ विजयी , वडा नम्बर ८ र १२ बिच भएको खेलमा वडा नम्बर १२ विजयी , वडा नम्बर १३ र २ बिच भएको खेलमा वडा नम्बर १३ विजयी र वडा नम्बर ४ र ११ बिच भएको खेलमा वडा नम्बर ४ विजयी भएको छ । त्यस्तै महिलातर्फ आज वडा नम्बर १३ र ४ बिच भएको खेलमा वडा नम्बर ४ विजयी भएको खेलकुद विकास समितिका सदस्य सचिव रविन्द्र देवकोटाले जानकारी दिए ।
प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुने समूहलाई नगद १२ हजार , ट्रफी र मेडल प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरीले जानकारी दिए । त्यस्तै द्धितिय हुने समूहलाई नगद १० हजार , ट्रफी र मेडल प्रदान गरिने चौधरीले बताए ।