खैरहनीमा दोस्रो मेयर रनिङ्ग कप फुटबल सुरु,पहिलो खेलमा वडा नम्बर ६ विजयी
चितवन , १३ माघ । पूर्वीचितवनको खैरहनीमा दोस्रो मेयर रनिङ्ग कप फुटबल प्रतियोगिता सुरु भएको छ । खैरहनी माध्यमिक विद्यालयको खेल मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले नगरको समृद्धिको लागि अन्य क्षेत्रसँगैै खेलकुद क्षेत्रलाई समेत जोड दिएको बताए । स्वस्थ जिवनको लागि खेलकुद आवश्यक रहेको भन्दै नगरपालिकाले आगामी दिनमा कवर्ड हल र स्टेडियम निर्माण गर्ने नगर प्रमुख खनियाँले प्रतिवद्धता व्यक्त गरे । उनले खेलाडीहरुलाई अनुशासित भएर हामीसबै नगरको खेलाडी हौं भन्ने आत्मिय भावनाको साथ खेल खेल्न आग्रह गरे ।
खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटाले देशका सबै धर्म , भाषा , जातजातीका व्यक्तिहरुलाई खेलकुदले एकतामा बाध्ने गरेको बताए । खेलकुदको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सहयोग पुग्ने बताए । खैरहनी नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरीले खेलकुदको माध्यमबाट भाइचाराको विकास गर्ने र खेलकुदबाट व्यक्ति , गाँउसहित देशलाई चिनाउन सकिने बताए ।
आज भएको पहिलो खेलमा खैरहनी नगरपालिका वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर २ लाई पराजित गर्दै वडा नम्बर ६ विजयी भएको हो । खेलको निर्धारित समयमा दुवै समुहले बारबरी दुई दुई गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा खैरहनी वडा नम्बर ६ ले १ का विरुद्ध ३ गोल गर्दै विजयी भएको छ । खैरहनी वडा नम्बर २ ले एक गोल गर्दा खैरहनी ६ ले तिन गोल गरेको हो । आजको खेलको म्यान अफ द म्याच खैरहनी नगरपालिका वडा नम्बर २ का साजन श्रेष्ठ भएका छन् । उनलाई खैरहनी नगरपालिका नगर प्रमुख शशि कुमार खनियाँले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका छन् । प्रतियोगिता अन्तर्गत आइतबार बिहान वडा नम्बर १० र ५ बिच खेल हुनेछ भने दिउँसो वडा नम्बर ७ र ८ बिच खेल हुनेछ ।
खैरहनी नगरपालिका र नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा खैरहनी नगरपालिकाका १३ वटै वडाबाट वडा स्तरिय समूह सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने समूहले नगद ६० हजार र द्धितिय हुनेलाई नगद ४५ हजारसहित ट्रफी , मेडल प्रदान गरिने खेलका संयोजक छन्नु महतोले जानकारी दिए ।