खैरहनी मेयर कप : वडा नम्बर ६ र १३ फाइनल प्रवेश
चितवन , १८ माघ । खैरहनीमा जारी दोस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिताको अन्तर्गत आज भएको दुईवटा सेमिफाइनल खेलमा वडा नम्बर ६ र १३ विजयी भएका छन् । आज बिहान वडा नम्बर ६ र ९ बिच भएको खेललाई वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ६ फाइनल प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा दुवै समुहको एक एक गोल भएपछि खेल पेनाल्टी सुटमा गएको थियो । पेनाल्टीमा वडा नम्बर ९ लाई ४ का विरुद्ध ५ गोल गर्दै वडा नम्बर ६ विजयी बन्यो । खेलको १२ औं मिनेटमा वडा नम्बर ९ का खेलाडीले हानेको बल रोक्ने क्रममा वडा नम्बर ६ का सन्दिप महतोबाट आत्मघाती गोल भएको थियो । खेलको ४३ औं मिनेटमा वडा नम्बर ६ का आदित्य महतोले गोल गरेर खेल बरावरीमा फर्काएका थिए । उक्त खेलमा वडा नम्बर ९ का सन्जित पुनले म्यान अफ द म्याचको ट्रफी प्राप्त गरेका छन् ।
आजै वडा नम्बर १ र १३ बिच भएको अर्को सेमिफाइनल खेलमा वडा नम्बर १३ विजयी भएको छ । वडा नम्बर १ लाई १ का विरुद्ध २ गोल गर्दै वडा नम्बर १३ फाइनलमा प्रवेश गरेको हो । वडा नम्बर १३ का सन्देश श्रेष्ठले दुई गोल गरेका थिए । श्रेष्ठले खेलको १० मिनेटमा र ४२ औं मिनेटमा गोल गरेका थिए । वडा नम्बर १ का अमित मगरले खेलको ७६ औ मिनेटमा एक गोल फर्काएका थिए । उक्त खेलमा वडा नम्बर १३ का विश्वास उदासले म्यान अफ द म्याचको ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको फाइनल खेल वडा नम्बर ६ र १३ बिच शनिबार दिउँसो हुने प्रतियोगिताको संयोजक छन्नु महतोले बताए ।