खैरहनीको दोस्रो मेयर रनिङ कप फुटबलमा वडा नम्बर १३ प्रथम, ६ द्धितिय
चितवन , २० माघ । खैरहनीको दोस्रो मेयर रनिङ कप फुटबल प्रतियोगितामा वडा नम्बर १३ प्रथम भएको छ । प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा वडा नम्बर ६ लाई पराजित गर्दै वडा नम्बर १३ प्रतियोगिताको विजेता भएको हो ।
वडा नम्बर ६ लाई ० का विरुद्ध ४ गोल गर्दै वडा नम्बर १३ विजेता भएको छ । वडा नम्बर १३ ले खेलको पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको छ । खेलको ३ मिनेटनै वडा नम्बर १३ का विश्वास उदासले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३७ औं मिनेटमा सन्देश श्रेष्ठले दोस्रो गोल , ५४ औं मिनेटमा सुदिप घलेले तेस्रो गोल र ६५ मिनेटमा शेखर उप्रेतीले चौथों गोल गरेका थिए । फाइनलमा पराजयसँगै खैरहनी वडा नम्बर ६ प्रतियोगितामा दोस्रो भएको छ। आजको खेलमा वडा नम्बर १३ का प्रकाश चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा प्रथमहुनेले नगद ६० हजार रुपैयाँ , मेडल र ट्रफी तथा द्धितिय हुनेले नगद ४५ हजार रुपैयाँ , मेडल र ट्रफी प्राप्त गरेको खैरहनी नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरीले जानकारी दिए । वडा नम्बर १३ का खेलाडीले भने विधागत पुरस्कारमा असन्तुष्टि जनाउदै प्रथम पुरस्कार समेत लिन गएनन् । प्रतियोगितामा उत्कृष्ट गोलरक्षकको रुपमा वडा नम्बर ७ का शशि चौधरी , उत्कृष्ट डिफेन्डरमा वडा नम्बर ९ का रजत तमाङ , उत्कृष्ट मिडफिल्डर वडा नम्बर १ का अन्जन चौधरी , उत्कृष्ट स्टाइगर वडा नम्बर ९ का अमृत चौधरी , सर्वाधिक गोलकर्ता वडा नम्बर १३ का सन्देश श्रेष्ठ , मेन अफ द सिरिस वडा नम्बर ६ का दिपक चौधरी र अनुशासित टिमको रुपमा वडा नम्बर ४ घोषित भए । उनीहरुलाई ट्रफी प्रदान गरिएको छ ।
त्यस्तै शुक्रबार महिलाहरुबिच भएको मैत्रीपूर्ण खेलमा प्रथम भएको वडा नम्बर १३ को समूहलाई ट्रफी र नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै द्धितिय हुने वडा नम्बर १ को समूहलाई ट्रफी र नगद ३ हजार ५ सय प्रदान गरिएको छ । समापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा ४ जना पुर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । पुर्व राष्ट्रिय खेलाडीहरु छन्नुराम चौधरी , सूर्यमान श्रेष्ठ , ललित थापा र लेखनाथ घिमिरेलाई खैरहनीका नगर प्रमुखले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँले यस प्रतियोगिताबाट नगर स्तरिय खेलाडी छनौट गर्न सहज हुने बताए । वडा वडाबिच खेल भएपनि समग्रमा सबै वडाका उत्कृष्ठ खेलाडीहरुलाई समेटेर नगर स्तरिय टिम बनाइने उनले बताए । नगरपालिकाले फुटबल मात्रै नभएकर भलिवल , ब्याडमिन्टन , तेक्वान्दो लगायत सबै खेललाई समेटेर अगाडी बढ्ने नगर प्रमुख खनियाँले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।