राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी
चितवन । बाँकेको राप्तीसोनारी गाउँपालिका–१, खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् । बिरामीमध्ये सातजनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । झाडापखाला फैलिएको जानकारी पाउनसाथ पाँचजना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको कुसुम स्वास्थ्य चौकीका इन्चार्ज अमृत महतराले जानकारी दिए । पानी शुद्धीकरण गर्ने र पखालाका अरू औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ । झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको र जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए ।