विपद् व्यवस्थापन गर्न सरकारी निकायनै बाधक छन् : पालिका प्रमुखहरु
चितवन, ०२ जेठ । चितवन जिल्लाका अधिकाम्स पालिका प्रमुखहरुले विपद् व्यवस्थापनको काममा सरकारी निकायहरु नै बाधक रहेको वताएका छन् । जिल्ला समन्वय समिति चितवनले आज भरतपुरमा आयोजना गरेको स्थानिय स्तरमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने नगर प्रमुखहरुले विपद् व्यवस्थापनको सरकारी कार्यालयहरुले सहजीकरण नगर्दा कठिन भएको बताए ।
चितवनमा मुख्य विपद्को रुपमा बाढी रहेको भन्दै त्यसको रोकथाम र नियन्त्रणको लागि खोलामा तटबन्धन गर्नुपर्ने तर निकुञ्ज , वन कार्यालय लगायतले सहजीकरण नगर्दा कठिन भएको नगर प्रमुखहरुले बताए । खोलामा ग्राबेल , ढुङ्गा जम्मा भएर खोलाको सतह माथी आएको स्थानबाट स्थानीय तहले सहज रुपमा नदिजन्य पदार्थ निकाल्न नपाएको , बाढी तथा कटान रोक्न खोलामा तटबन्ध गर्न खोज्दा समेत तिनै निकुञ्ज , वनबाट अवरोध हुने गरेको नगर प्रमुखहरुले बताए । उनीहरुले स्रोतसाधन र अधिकार क्षेत्रको स्पष्ट व्यवस्था नहुदा स्थानीय तह र सरकारी कार्यालयबिच तकरावको अवस्था आउने गरेको बताए ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका जलवायु तथा वातावरण विज्ञ हरि प्रसाद शर्माले प्रस्तुतीकरण राखेका थिए । उनले जलवायु परिवर्तन , त्यसको कारण असर र त्यसको न्यूनीकरणको लागि गर्न सक्ने प्रयासको बारेमा जानकारी दिएका थिए । त्यस्तै विपद् व्यवस्थापन सम्बन्धि सशस्त्र प्रहरी बल १७ नम्बर गण आपटारीका प्रहरी नायव उपरीक्षक मनोज गुरुङले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख कल्पना काफ्ले , प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा , ईच्छाकामना गाउँपालिकाका प्रमुख दान बहादुर गुरुङ , कालिकाका नगर प्रमुख विनोद रेग्मी , रत्ननगरका प्रलाद सापकोटा , खैरहनीका नगर प्रमुख शशी कुमार खनिया, माडीकि नगर प्रमुख ताराकुमारी काजी महतो लगायतले मन्तव्य राखेका थिए ।