खैरहनीमा तेस्रो मेयर रनिङ कप सुरु ,पहिलो दिनको खेलमा वडा नम्बर ११ विजयी
चितवन , ३ कार्तिक । खैरहनी नगरपालिकाको आयोजनामा तेस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिताको खैरहनीका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गरेका हुन् ।
प्रतियोगिता उद्घाटनको क्रममा बोल्दै नगर प्रमुख खनियाले खेलकुदलाई समेत प्राथमिकता दिएर नगरपालिका अगाडी बढेको बताए । चाडपर्वको रमाइलो माहोलको बेला प्रतियोगिता गर्दा स्वदेशका विभिन्न स्थान तथा विदेशबाट गाँउघरमा आउनेहरुले समेत खेलको मनोरञ्जन लिन पाउने भएकाले अहिलेको समयमा प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख खनियाले बताए । स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुदसँगै अप्रत्यक्ष रुपमा खेलकुद आयआर्जनसँग पनि जोडिने भएकोले नगरपालिकाले भौतिक पुर्वाधारसँगै खेलकुदलाई समेत प्राथमिकता दिएको उनले बताए ।
कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रुसाद सापकोटा नगरपालिकाले हरेक बर्ष खेलकुदको बजेट बृद्धि गर्दै गएको बताए । खेलकुदले राष्ट्रलाई एकताबद्ध बनाउन र अर्थतन्त्रलाई चलायमान बनाउन समेत योगदान पुुर्याउनेमा जोड दिए । यस्तै खेलको माध्यमबाट पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी निस्कने उनले बताए । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कमल प्रसाद न्यौपाने ,नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरी लगायतले मन्तव्य राखेका थिए । प्रतियोगितामा खैरहनीका १३ वटा वडाको वडा स्तरिय समूह सहभागी रहने छन् । प्रतियोगितामा प्रथम हुने समूूहलाई नगद ६० हजारसहित ट्रफी , मेडल तथा प्रमाणपत्र र द्धितिय हुनेलाई नगद ४० हजारसहित ट्रफी , मेडल तथा प्रमाणपत्र प्रदान गरिने खैरहनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर २ का अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ११ विजयी भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ११ र ४ बिच शुक्रबार भएको खेलमा वडा नम्बर ११ विजयी भएको हो । खैरहनी वडा नम्बर ११ ले वडा नम्बर ४ लाई १ का विरुद्ध ४ गोल गर्दै पराजित गरेको हो । उक्त खेलको म्यान अफ द म्याच खैरहनी ४ का रोशन मगर भएका छन् । उनलाई खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।
























