तेस्रो मेयर रनिङ कप फुटबलको उपाधी खैरहनी १३ को पोल्टामा
चितवन , १० कार्तिक । खैरहनी नगरपालिकाद्वारा संचालित तेस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिताको उपाधी खैरहनी नगरपालिका वडा नम्बर १३ ले उचालेको छ । आज भएको फाइनल खेलमा वडा नम्बर १ लाई १- ० को गोलअन्तरले पराजित गर्दैै वडा नम्बर १३ विजयी भएको हो ।
खेलको पहिलो हाफमा दुुवै समूहले गोल गर्न सकेका थिएनन् । खेलको दोस्रो हाफको २३ औं मिनेटमा खैरहनी १३ का जर्सी नम्बर १० का खेलाडी सन्देश श्रेष्ठले एक गोल गर्न सफल भए । उक्त गोल नै आजको निर्णायक गोल बन्यो । प्रतियोगिताको विजेता समूह वडा नम्बर १३ ले नगद ६० हजारसहित सिल्ड , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनिया , प्रमुख प्रशासकीय अधिकृत , सामाजिक विकास समिति संयोजक रोहिणी प्रसाद उप्रेती , नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरी लागयतले विजेता समूहलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।
विजेता भएको वडा नम्बर १३ को समूहले उक्त पुरस्कार बाहेक नगद १ लाख रुपैयाँ समेत पाउने भएका छन् । प्रतियोगितामा वडा नम्बर १३ प्रथम भए वडाको तर्फबाट खेलाडीलाई एक लाख रुपैयाँ प्रोत्साहन रकम दिने घोषण गरेअनुुसार रकम उपलब्ध गराइने खैरहनी १३ का वडा अध्यक्ष कुलप्रसाद भुषालले बताए । यस अघिको दोस्रो मेयर कपको उपाधी समेत वडा नम्बर १३ ले नै प्राप्त गरेको थियो । लगातार तिन पटक विजेता हुने वडाले मेयर रनिङ कपको सिल्ड सहित नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । आगामी बर्षको मेयर कपमा समेत वडा नम्बर १३ विजयी भएमा नगद ५ लाख प्राप्त गर्ने खैरहनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले जानकारी दिए । प्रतियोगिताको उप विजेता वडा नम्बर १ ले नगद ४५ हजार , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
आजको खेलको म्यान अफ द म्याच खैरहनी १३ का जर्सी नम्बर १० का खेलाडी सन्देश श्रेष्ठले प्राप्त गरेका छन् । म्यान अफ द सिरिज खैरहनी १ का अन्जन चौधरी , बेस्ट डिफेन्डर वडा नम्बर १ का अमित दराई , बेस्ट मिड फिल्डर वडा नम्बर २ का साजन श्रेष्ठ , बेस्ट फरवार्ड वडा नम्बर १ का अमित मगर , बेस्ट गोलकिपर वडा नम्बर १३ का विशाल तमाङ , सर्वाधिक गोलकर्ताको ट्रफी वडा नम्बर २ का रुपेश दराइले प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको अनुुशासित टिमको ट्रफी वडा नम्बर २ ले प्राप्त गरेको छ ।
आजै भएको महिलाहरुको मैत्रीपूर्ण फुटबल खेलमा समेत वडा नम्बर १३ विजेता भएको छ । वडा नम्बर २ लाई १—० को गोलअन्तरले पराजित गर्दै वडा नम्बर १३ विजेता भएको हो । उक्त खेलको विजेता टिमmाई नगद पाँच हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरीले जानकारी दिए । त्यस्तै उप विजेता वडा नम्बर २ ले नगद चार हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।