खैरहनीमा संचालित खुल्ला भलिबल प्रतियोगितामा रत्ननगर प्रथम
चितवन , ११ फाल्गुन । खैरहनीमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा रत्ननगर भलिबल समुह प्रथम भएको छ । सोनि लाफा युवा क्लवले आफ्नो ३० औं वार्षिकोत्सबको अवसरमा खैरहनी नगरपालिका वडा नम्बर ४ मा आयोजना गरेको खुल्ला पुरुष भलिवल प्रतियोगितामा आयोजक क्लबलाई पराजित गर्दै रत्ननगर प्रथम भएको हो ।
प्रतियोगितामा खेल आयोजना गरेको सोनि लाफा युवा क्लब द्वितीय र सशस्त्र प्रहरी बल भण्डाराले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगिताको विजेता समुहले नगद ६० हजार सहित ट्रफी र मेडल , द्वितीय भएको समुहलाई नगद ४० हजारसहित ट्रफी र मेडल र तृतीयलाई नगद २० हजारसहित ट्रफी र मेडल प्रदान गरिएको क्लबका अध्यक्ष शेर बहादुर आलेले जानकारी दिए । प्रतियोगितामा १८ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगितामा विजेता समूह र खेलाडीहरुलाई खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया , खैरहनी ४ का वडा अध्यक्ष वेद बहादुर अधिकारीलेले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख खनियाले विकास निर्माणको कामसंगै खेलकुदको क्षेत्रमा समेत काम गरिरहेको र आगामी दिनमा समेत खेलकुदलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्ति गरे । उनले पछिल्लो समय युवापुस्ता मोबाइलको लतमा र विभिन्न दुर्व्यसनीमा फस्ने गरेकोले यस्ता खेलकुदको गतिविधिले युवाहरू स्वस्थ रहन र गलत गतिविधिमा फस्नबाट जोगिने बताए । क्लबले शनिबार रक्तदान कार्यक्रम समेत गरेको थियो । उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।