महाशिवरात्रीमा ८९० ट्राफिक प्रहरी खटिने, यी स्थानमा हुनेछ पार्किङ सुविधा
चितवन, १२ फाल्गुन । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित र व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन र दर्शनार्थीलाई सहज आवत-जावत र दर्शन गर्ने वातावरण बनाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो। दर्शनार्थी र भक्तजनका सवारी साधनहरूको पार्किङ तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ। त्यस्तै, बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरू पार्किङ हुनेछन्।
कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरूको पार्किङ व्यवस्था मिलाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाकाबाट भित्रिने भक्तजनका सवारी साधनहरूको पार्किङका लागि छुट्टाछुट्टै स्थान तोकिएको छ। धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत-जावतको व्यवस्था गरिएको छ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्र गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरि सहज आवागमनको व्यवस्थापन गरिनेछ। यसका लागि करिडोर सडक र भित्री सडकहरूमा पनि बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइएको छ।
सदाझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ। तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्थामा मात्रै डाइभर्सनको नीति अपनाई वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाइनेछ।
तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरूलाई निषेध गरिएको छ।
वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ।
सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका ट्राफिक प्रहरी समेत परिचालन गरिएको छ। ट्राफिक प्रहरीले आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिन अनुरोध पनि गरेको छ।
शिवरात्री पर्वको अवधिभर भक्तजनलाई सरल र सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी ८०० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ। आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी पनि खटाइने जानकारी दिइएको छ।
प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले महाशिवरात्रीको अवधि भरि पशुपत क्षेत्र आउने दर्शनार्थी र भक्तजनहरुलाई निर्वाध रूपमा दर्शन गर्ने वातावरण सुनिश्चित गर्न र आवागमनलाई प्रभावकारी व्यवस्थापन गर्न प्रहरी समर्पित भएर काम गर्ने बताए।
यसैगरी, अन्य शिवालयहरूमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी खटाइने जानकारी प्रवक्ता राउतले दिएका छन्।