समानुपातिक बन्दसूची संशोधनको समय तोकियो, पुस २१ देखि २७ गतेसम्म अवसर
चितवन, १८ पुष । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची संशोधन गर्न राजनीतिक दलहरूलाई पुस २१ देखि २७ गतेसम्मको समय दिएको छ।
राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते आयोगमा पेस गरेका थिए। ती बन्दसूचीको प्रारम्भिक छानबिनपछि आवश्यक सच्याउन आयोगले पुस १५ गते दलहरूलाई जानकारी गराएको हो।
आयोगका अनुसार बन्दसूचीमा समावेश उम्मेदवारहरूले नाम फिर्ता लिन चाहेको खण्डमा पुस २८ गते निवेदन दिन सक्नेछन्। पुस २९ गते आयोगले नाम फिर्ता भएको जानकारी सम्बन्धित दलहरूलाई गराउनेछ।
फिर्ता भएका नामको सट्टा सोही समूहभित्रबाट नयाँ उम्मेदवार मनोनयन गरी नामावली पेस गर्न आयोगले समय दिएको छ। उम्मेदवारहरूको नामावली माघ ४ गते प्रकाशित गरिनेछ।
त्यसैगरी माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोधको निवेदन दिन सकिनेछ। प्राप्त उजुरीमाथि माघ ११ देखि १७ गतेसम्म छानबिन गरी निर्णय लिने आयोगको कार्यतालिका छ।
आयोगले माघ १९ गते बन्दसूचीबाट हटाइएका उम्मेदवारको सूचना प्रकाशन गर्ने र माघ २० गते अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ।




















