डा. शेखर कोइरालाले विशेष महाधिवेशन केन्द्रीय समितिबाट आह्वान गर्नुपर्नेमा जोड दिए
चितवन, २२ पुष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन केन्द्रीय समितिको सहमतिमा आह्वान गर्नुपर्नेमा जोड दिएका छन्। आज पार्टीका नेताहरूसँगको बैठकमा उनले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरी आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुने बताएका छन्। यस भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालका अनुसार, नेता कोइरालाले सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू यसका लागि क्रियाशील रहेको बताए।
नेता कोइरालाले प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसले गठबन्धन गर्न नहुने कुरा पनि स्पष्ट पारे।
भुषालका अनुसार, अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए।
नेता कोइरालालाई भेट्न चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायतका केन्द्रीय सदस्यहरू उनको सम्पर्क कार्यालय पुगेका थिए।



















