भ्रामक सूचनाप्रति सञ्चारमन्त्रीको चेतावनी
नुवाकोटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक तथा गैरजिम्मेवार सामग्री प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।
विदुर नगरपालिकाको बट्टारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सञ्चार क्षेत्रले जिम्मेवार, अनुशासित र आचारसंहिताअनुसार काम गर्नुपर्नेमा जोड दिए। सञ्चार जगत् राज्यको चौथो अङ्ग भएकाले यसले आफ्नो भूमिकामा गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल मात्र नभई सञ्चारमाध्यमबाट प्रसारित सामग्रीमा पनि समस्या देखिएको उल्लेख गर्दै यस्ता विषयमा कारबाहीभन्दा स्वनियमन आवश्यक रहेको बताए। कडाइ गर्दा अभिव्यक्ति स्वतन्त्रता खुम्चिएको आरोप लाग्ने भएकाले सञ्चार क्षेत्रले आफैँ जिम्मेवार बन्नुपर्ने उनले स्पष्ट पारे।
समाचारले समाजमा पार्ने प्रभावलाई ध्यानमा राख्दै तथ्यमा आधारित र पुष्टि भएका सूचनामात्र सम्प्रेषण गर्न उनले आग्रह गरे। भ्रमपूर्ण सूचना छोटो समय टिके पनि त्यसले ठूलो क्षति पुर्याउन सक्ने उनको भनाइ थियो।
सरकार प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले श्रमजीवी पत्रकारको हितका लागि काम भइरहेको बताए। साथै, विज्ञापन तथा सूचना प्रकाशन–प्रसारणलाई पारदर्शी बनाउन र सरकारी सञ्चारमाध्यमलाई सुदृढ गर्न नयाँ नीति लागू गरिएको जानकारी दिए।
उनले सञ्चारमाध्यम बलियो भए मात्र सरकार पनि सुदृढ हुने उल्लेख गर्दै जिम्मेवार पत्रकारिताले सरकारलाई पनि उत्तरदायी बनाउन सहयोग गर्ने बताए। समाधानमुखी र तथ्यपरक पत्रकारितामा जोड दिँदै उनले सरकारी सञ्चारमाध्यमलाई अझ व्यावसायिक बनाउने प्रयास भइरहेको बताए।
मन्त्री तिमिल्सिनाले विगतमा जनताका प्रश्नको समयमै जवाफ नदिँदा निराशा बढेको स्वीकार्दै अहिले काममार्फत विश्वास जगाउने प्रयास भइरहेको बताए। सुशासन, सेवा प्रवाह र विकासका क्षेत्रमा देखिएका समस्या स्रोतको मात्र नभई कार्यशैली र प्रतिबद्धतासँग पनि जोडिएको उनको भनाइ थियो।
सरकारले प्राप्त जनादेशअनुसार सुशासन कायम गर्न र प्रभावकारी सेवा दिन प्रतिबद्ध रहेको बताउँदै उनले सञ्चारमाध्यमलाई सत्यमा आधारित प्रश्न गर्न, निगरानी राख्न र समाधानका सुझाव दिन आग्रह गरे। भ्रामक सूचनाले कसैलाई फाइदा नपुर्याउने भन्दै सबैलाई सचेत हुन उनले अपिल गरे।
सेवा प्रवाह सुधार गर्न सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने योजना रहेको जानकारी दिँदै उनले युवालाई देशमै अवसर सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको बताए। साथै, केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै सेवा प्रवाहमा असर नपर्ने गरी काम गरिने उनले प्रतिबद्धता जनाए।












