भरतपुर र खैरहनीमा जुवा खेल्ने २१ जना पक्राउ,३ लाख ६१ हजार रुपैयाँ बरामद
चितवन , ४ कार्तिक । चितवनमा जुवा खेल्ने २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । तास खेल्दै गरेको अवस्थामा भरतपुर र खैरहनीबाट उनीहरुलाई ३ लाख ६१ हजार ९ सय ३० रुपैयाँ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित ओदान रेस्टुरेन्टमा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक दिपक प्रसाद रिजालको कमाण्डमा खटिएको टोलिले उनीहरुलाई राती करिव १:३० बजे एक बुक ताससहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले २ लाख ११ हजार २ सय १० बरामद गरेको छ ।
त्यस्तै खैरहनीमा तास खेल्दै गरेको अवस्थामा ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलिले राती करिव १२:३० बजे खैरहनी ११ गैंडाहाबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले पाँच बुक तास र १ लाख ५० हजार ७ सय २० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।