ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, डाँडाकाँडा सेताम्मे
चितवन, ०८ चैत्र । दुई दिनसम्म वर्षा भएपछि मौसम सफा भएसँगै ताप्लेजुङ जिल्लाका डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन्। मैवाखोला गाउँपालिकाअन्तर्गत तीनजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा सहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि हिउँले सेताम्मे बनेका छन्। मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या समेत बढ्न थालेको छ।
ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार साँझदेखि बाक्लो हिमपात भएको हो। वर्षासँगै सुरु भएको हिमपातका कारण जिल्लाका विभिन्न हिमाली भेगहरू हिउँले ढाकिएका छन्।
फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा, फले तथा वडा नम्बर ७ को ओलाङ्चुङगोला क्षेत्रमा उल्लेख्य हिमपात भएको छ।
त्यसैगरी मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाका माथिल्ला भेग, मिल्के–जलजले क्षेत्र तथा सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्।
प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिमपात भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धामदेखि फेदी बजार हुँदै गुराँसे डाँडासम्म हिउँ जमेको छ।
हिमपातसँगै जिल्लाका हिमाली बस्तीमा चिसो पनि अत्यधिक बढेको छ। विशेषगरी ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्सा क्षेत्रमा चिसो बढेको स्थानीयले बताएका छन्।



















