खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
खैरहनी, १४ श्रावण । खैरहनी नगरपालिका वडा नम्बर १० र ११ का अति विपन्न मुसहर तथा बोटे समुदायका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान गरिएको छ। भरोसा फाउण्डेशन ललितपुर नेपालको सहयोग र कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममार्फत मुसहर बस्तीका ४५ तथा बोटे बस्तीका ४१ घरधुरीमा घरघरमै शुद्ध खानेपानीको सुविधा पुगेको हो ।

धारा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा भरोसा फाउण्डेशनका निर्देशक काम पाइतेले अति विपन्न समुदायसम्म स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो। उहाँले स्वच्छ खानेपानीले नागरिकको स्वास्थ्य सुधारका साथै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “यहाँ भएको कामले मेरो मन छोएको छ। समुदायको आवश्यकताअनुसार आगामी दिनमा पनि तपाईंहरूसँग सहकार्य गर्दै अझ प्रभावकारी कार्यक्रम अघि बढाउनेछौँ ।” काम पाइतेले भन्नुभयो ।
कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जोखा चौधरीका अनुसार धारा जडानका लागि २७१ घरधुरीबाट निवेदन परेको भए पनि पहिलो चरणमा सबैभन्दा अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर ८६ घरधुरीमा धारा जडान गरिएको हो । मुसहर बस्तीमा यसअघि ४५ घरधुरीका लागि तीनवटा मात्र चापाकल रहेकाले दैनिक एक घण्टासम्म लाइन बसेर पानी भर्नुपर्ने बाध्यता थियो । अहिले घरघरमै धारा जडान भएपछि स्थानीयवासी अत्यन्तै खुशी भएका छन् ।
भरोसा फाउण्डेशनका सल्लाहकार कृष्णप्रसाद अर्यालले धारा जडानसँगै पानीको दुरुपयोग रोक्न समुदायसँग सहमति गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अत्यधिक पानी खपत गर्ने तथा सामाजिक अनुशासन विपरीत गतिविधिमा संलग्न हुनेलाई समुदायको निर्णयअनुसार जरिवाना गर्ने व्यवस्था गरिएको छ। यसले खानेपानीको दिगो व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। भरोसा फाउण्डेशनको ३ लाख रुपैयाँ आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त योजनाले विपन्न समुदायमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्नुका साथै सरसफाइ र स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



















