मापदण्डविहीन उत्पादन र ‘अदृश्य’ विषाक्ततासहितको घरेलु मदिराले निम्त्याएको स्वास्थ्य र सामाजिक सुरक्षामा चुनौती
विकास पौडेल , चितवन ।
साँझ ढल्किँदै जाँदा कतिपय बस्ती र टोलहरूमा एक प्रकारको मौन त्रास छाउन थाल्छ। दिनभरको थकान मेटाउने वा समस्या भुल्ने बहानामा सस्तो र सर्वसुलभ घरेलु मदिराको गिलास रित्तिँदै जाँदा त्यसले कति परिवारको खुसी, स्वास्थ्य र ज्यानसमेत लुटिरहेको छ भन्ने लेखाजोखा कमै गरिन्छ। न कुनै गुणस्तर परीक्षण, न त कुनै निश्चित मापदण्ड—अँध्यारो कुना र असुरक्षित भाँडाकुँडामा तयार हुने घरेलु मदिरा अहिले जनस्वास्थ्यदेखि सामाजिक सुरक्षासम्मको गम्भीर चुनौती बन्दै गएको छ।
मापदण्डविहीन उत्पादन र ‘अदृश्य’ विषाक्तता घरेलु मदिरा उत्पादन प्रक्रियाको सबैभन्दा डरलाग्दो पक्ष हो। प्रक्रियागत सफाइ, कच्चा पदार्थको शुद्धता र उत्पादनमा कच्चा पदार्थको निश्चित अनुपात कायम नहुँदा यसमा के–कस्ता तत्व मिसिएका छन् भन्ने स्वयं उत्पादकलाई समेत यकिन हुँदैन। मुनाफा बढाउने वा छिटो प्रक्रिया टुङ्ग्याउने होडमा कतिपय ठाउँमा अखाद्य तथा खतरनाक वस्तु मिसाउने प्रवृत्तिसमेत देखिने गरेको छ। प्लास्टिक, पुराना कपडा वा अन्य अवाञ्छित सामग्री प्रयोग गर्ने, फोहोर वातावरणमा उत्पादन गर्ने तथा रसायन वा अखाद्य तत्वको मात्रामा सन्तुलन नहुँदा यस्तो मदिरा मन्द विषमा परिणत हुन्छ। परिणामस्वरूप सेवन गर्ने व्यक्तिको कलेजो, मिर्गौला र स्नायु प्रणालीमा दीर्घकालीन क्षति पुग्ने मात्र होइन, अत्यधिक विषाक्तताका कारण तत्कालै ज्यान जानेसम्मका घटना हुने गरेका छन्। विषाक्त मदिराको त्रास हाम्रो परिवेशमा मात्र सीमित छैन। छिमेकी मुलुकहरूमा पनि विषाक्त मदिरा सेवनका कारण एकैपटक दर्जनौँ मानिसले ज्यान गुमाएका ठूला त्रासदी बेलाबेलामा बाहिर आउने गरेका छन्। हालै मात्र भारतको मणिपुरमा विषाक्त मदिराका कारण १६ जनाले ज्यान गुमाएको र ६०० जना बिरामी भएको घटना सार्वजनिक भएको छ। ती घटनाहरूले मापदण्डहीन र विषाक्त मदिरा कति घातक हुन सक्छ भन्ने स्पष्ट चेतावनी दिन्छन्।
सर्वसुलभता र बढ्दो खपतको चक्रमा बजारिया ब्रान्डेड मदिराको तुलनामा सस्तो मूल्य र सजिलै उपलब्ध हुने भएकाले घरेलु मदिराको खपत अपेक्षाभन्दा बढी हुने गरेको छ। न्यून आय भएका वर्गदेखि दैनिक ज्यालादारी गर्ने मजदुरसम्मको सहज पहुँचमा यो पुग्दा सेवनको मात्रा पनि अनियन्त्रित बन्दै गएको छ। खपत बढ्नुको सोझो असर व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्छ। लामो समयसम्म गुणस्तरहीन र मात्राको यकिन नभएको मदिरा सेवन गर्दा स्वास्थ्यमा विभिन्न असर पर्ने चिकित्सकहरू बताउँछन्। कलेजोको समस्या, उच्च रक्तचाप र मानसिक अस्थिरताजस्ता जटिलता निम्तिन्छन्। कतिपय अवस्थामा त घरेलु मदिरा सेवनपछि होस गुमाएर नदी, खोला वा खाल्डाखुल्डीमा डुबेर ज्यान गुमाउने दुःखद घटनासमेत समाजमा बारम्बार सुनिने गरेका छन्।
घरेलु मदिराको असर केवल पिउने व्यक्तिको शरीरमा मात्र सीमित रहँदैन; यसको सबैभन्दा कठोर मूल्य घरभित्रका निर्दोष सदस्यहरूले चुकाउनुपर्छ। मदिराको नशामा लठ्ठिएर घर फर्किने प्रवृत्तिले पारिवारिक कलह र घरेलु हिंसालाई मलजल गरिरहेको छ। घरेलु हिंसा र कुटपिट, सामान्य भनाभनसमेत उग्र रूप लिएर श्रीमती, छोराछोरी वा परिवारका अन्य सदस्यमाथि निर्घात कुटपिट हुने घटना सामान्यजस्तै बन्न थालेका छन्। मदिराको तालमा हुने हिंसाको चरम रूप लिँदा कतिपय अवस्थामा महिलाहरूले ज्यान नै गुमाउनुपरेका पीडादायी उदाहरण समाजमा विद्यमान छन्। चितवनकै खैरहनीमा घरेलु मदिरा सेवनपश्चात् श्रीमान्को कुटाइबाट गीता माझीले ज्यान नै गुमाउनुपरेको त्रासदीपूर्ण घटना कसैले बिर्सेको छैन। मदिराको नशामा श्रीमतीलाई कुटपिट गर्दै उनको यौनाङ्ग र मलद्वारमा लौरो छिराउँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। यस्ता त्रासदीपूर्ण घटना घरभित्र सुरु भई क्रमशः टोल र समाजको शान्ति–सुरक्षामा समेत खलल पुर्याउने कारक बनिरहेका छन्।
घरेलु मदिराको यो समस्यालाई केवल ‘व्यक्तिको बानी’ वा ‘कानुन कार्यान्वयनको सामान्य विषय’ मात्र मान्नु अपर्याप्त हुन्छ। उत्पादनको गुणस्तर र स्वच्छताप्रतिको लापरबाही, सस्तोपनले निम्त्याएको अत्यधिक सेवन, स्वास्थ्यमा पर्ने गम्भीर असर र त्यसबाट जन्मने घरेलु हिंसा—यी सबै कडी एकअर्कासँग जोडिएका छन्। जबसम्म सचेतना, स्वास्थ्य जोखिमको यथार्थ बुझाइ र नियमनकारी प्रभावकारिता सँगसँगै अघि बढ्दैनन्, तबसम्म सस्तो मदिराको मूल्य परिवार र समाजले ज्यान तथा खुसी गुमाएर तिरिरहनु पर्ने अवस्था रहिरहनेछ। त्यसैले घरेलु मदिराको उत्पादन, त्यसको गुणस्तर सुनिश्चितता, उत्पादन प्रक्रिया, प्रयोग हुने कच्चा पदार्थको स्पष्ट जानकारी र विषाक्त भएर कसैको ज्यान नै जाने अवस्थामा उत्पादकलाई समेत जिम्मेवार बनाउने नीतिगत व्यवस्था गर्न आवश्यक छ। त्यो व्यवस्था नहुँदासम्म यसको उत्पादन र सेवनलाई नियमनकारी निकायले नियन्त्रण गर्नुपर्ने देखिन्छ।
बेलाबेला प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्ने तथा भट्टी नै नष्ट गर्ने अभियान त सञ्चालन गर्छ तर समुदायबाट आउने मिश्रित प्रतिक्रियाले प्रहरीलाई त्यस्तो अभियान सञ्चालन गर्न खासै प्रेरित गरेको देखिँदैन। गरिबको पेटमा लात्ती हानेको भन्ने अभिव्यक्तिले जनताकै जिउधनको सुरक्षा र समाजमा शान्ति–सुरक्षा कायम गर्न खटिने प्रहरीको मनोबल उच्च बनाउन सकेको छैन। यो प्रहरीको अभियानमा मात्र सीमित नभई समाजबाटै स्वतःस्फूर्त रूपमा सचेतना अभियान सञ्चालन भए मात्र यसको नियन्त्रण हुने देखिन्छ।




















