लिखित जवाफ बुझाएर सर्वोच्चबाट फर्के प्रधानमन्त्री ओली
काठमाडौं,६ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जबाफ पेश गरेर फर्किएका छन् । अदालतको अवहेलना मुद्दामा उनले आज सर्वोच्चमा लिखित जवाफ पेश गरेका हुन् ।
प्रधानमन्त्री स्वयं अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘‘उहाँले स्वयं उपस्थित भएर लिखित जवाफ प्रस्तुत गर्नुभएको छ । अदालतप्रतिको उच्च सम्मान प्रस्तुत गर्नुभएको छ,’’ थापाले सञ्चारकर्मीसित भने ।
यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नहुनुपर्ने हो ? जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले अवहेलना भएकाले हदैसम्मको कारबाही माग गर्दै रिट परेको थियो । उनले विघटनको विरुद्धमा बहस गरिरहेका कानुन व्यवसायीलाई ‘बाजे वकिल’ र ‘तमासा’ भनेको विषयलाई लिएर प्रधानमन्त्रीको आलोचना भएको थियो ।