विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै, अस्पताल नजिकै मञ्च
फागुन ८
प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड(माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाज पनि आन्दोलनमा छ ।
प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो । विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ । सडकमा आमसभा गर्दा ट्राफिक जाम हुने भएपछि अस्पताल छेउको खाली जग्गामा सभास्थल बनाइएको आयोजक कमिटीले जनाएको छ ।
प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।
शनिबार दिउँसो करिब १२ बजेबाट सुरु हुने सभामा प्रदेशबाट २ लाख जना सहभागी हुने नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । उनका अनुसार जनसभाबाट गाउँ(गाउँबाट कार्यकर्ता ल्याउनका लागि एक हजार १५ बसको व्यवस्था गरिएको छ । विराटनगरको विभिन्न ६ स्थानबाट र्याली निस्कनेछन् ।
‘दुई लाख समर्थक सहभागी हुने हाम्रो अपेक्षा छ,’ ढकालले भने ‘मोटरसाइकल मात्रै १० हजार आउछन्, निजी सवारी पनि धेरै आउछन् ।’
विराटनगरको जनसभा एतिहासिक हुने उनको दाबी छ । भिड धेरै हुने भएकाले दुई स्थानमा प्रधानमन्त्रीको सम्बोधन हेर्न मिल्ने गरी डिस्प्ले स्क्रिन राखिएको छ ।
केही दिन अघि लुम्बिनीमा शक्ति प्रदर्शन गरेको ओली समूहले निर्वाचनको सन्देश दिनका लागि विराटनगरमा सभा आयोजना गरेको हो । प्रधानमन्त्री सवारी हुनेभएपछि प्रहरीले विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सुरक्षा सतर्कता उच्च बनाएको बताएका हुन् ।
विराटनगरमा केपी ओलीको कार्यक्रम
शनिबार विहान ११ बजेको फ्लाइटमा प्रधानमन्त्री विराटनगर आउने कार्यतालिका छ । विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा नेताहरुसँग भेटबार्ता गर्नेछन् । मुख्यमन्त्री शेरधन राईसहित नेताहरुसँग होटल एसियाटिकमा छलफल गर्ने कार्यतालिका छ । नेकपा केन्द्रीय सदस्य ढकालका अनुसार ११ बजे विराटनगर आइपुग्ने प्रधानमन्त्री ओली साढे १२ बजेमात्रै कार्यक्रम स्थलमा पुग्नेछन् । उनका अनुसार होटल एसियाटिकमा केही समय आराम गर्नेछन् । सभालाई सम्बोधन गरी शनिबार नै काठमाडौं फर्कने तयारी छ ।
‘बिहान ११ बजे आएर बेलुका साढे ४ बजेको फ्लाइटमा फर्कने कार्यतालिका छ ,’ उनले भने ‘ विराटनगरमा जनसभालाई सम्बोधन गर्ने बाहेक अन्य कार्यक्रम छैनन् ।’