प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोकेपछि एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको आदेशमा आइतबार अन्तिम समयमा रोकिएको थियो । भ्रमण रोकिएको सन्दर्भमा छलफल गर्न सोमबार बिहान ११ बजे पार्टी सचिवालयको बैठक बोलाइएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायत विषयमा समेत छलफल हुनेछ ।
राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्रिपरिषद्ले नै गरेको निर्णयअनुसार मन्त्री पौड्याल नेतृत्वको टोली आइतबार साँझ त्यसतर्फ उड्न लागेको थियो । तर, प्रधानमन्त्रीको निर्देशनपछि उनको भ्रमण रोकिएको थियो ।
बैठकमा एमाले सरकारबाट तत्काल फिर्ता हुने अथवा केही समय कुर्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिसकेको छ ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।
एमालेको समेत समर्थनमा प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने वेलामा कांग्रेससँग गठबन्धन गर्न पुगेका छन् ।