गुणस्तरीय मिनरल वाटर निर्यातका लागि तयार
काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य भएको जनाएको छ । सो विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी पारित गरेको हो । यसअघि बोतल र ड्रिङ्किङ वाटरको गुणस्तर मापदण्ड तयार भए पनि मिनरल वाटरको गुणस्तर निर्धारण र सोसम्बन्धी गुणस्तर मापदण्ड पारित भएको थिएन ।
विभागको हालै भएको गुणस्तर परिषद्को १०८औँ बैठकले पानीको गुणस्तर मापदण्ड पारित गरेको हो । पानीको गुणस्तर तयार भए पनि निर्यात गर्न व्यवसायीलाई सहज हुने भएको छ ।
विभागका प्रवक्ता ज्योति जोशी भट्टले मिनरल वाटरको गुणस्तर तयार गरी पारित गरिएको जानकारी दिए। पानीको गुणस्तर तयार भएपछि यसको आधारमा विभागले सर्टिफिकेट उपलब्ध गराउने हुँदा व्यवसायीलाई पानी निर्यात गर्न सहज हुने उनको भनाइ छ । पानीको गुणस्तर मापदण्ड पारित भएसँगै पानीको निर्यात गरेर विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।
पानीको गुणस्तर तयार भएसँगै व्यवसायीले विभागबाट गुणस्तर ९एनएस० चिह्न प्राप्त गर्नेछन् । पानीको गुणस्तर हुँदा निर्यात गर्न सहज भई पानीको विश्वसनीयतासमेत कायम हुने विभागले जनाएको छ ।
विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागले जनाएको छ ।
विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई उद्योग, वाणिज्यमन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको छ ।
विभागको प्राविधिक परिषद्ले धेरै वस्तुको गुणस्तर पारित गरे पनि नेपाल गुणस्तर परिषद्को बैठक समयमा बस्न नसक्दा कतिपय गुणस्तर पारित हुन सकेका छैनन् । विभागले दैनिक उपभोग्य वस्तुदेखि सिमेन्ट, पाइप, रेगुुलेटरलगायतका अन्य सामानको गुणस्तर निर्धारण गर्ने गर्छ ।
नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८ ७९ मा १५ गुणस्तर पारित गरेको थियो । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३७ करोड ५२ लाख ५० हजार रुपियाँ बराबरको नौ लाख ९१ हजार ८१४ लिटर पानी निर्यात भएको छ । नेपालबाट न्यून परिमाणको पानी निर्यात भए पनि ठूलो मात्रामा विदेशबाट नेपालमा पानीको आयात हुने गर्छ ।