सरकार र पुनबीचको छलफल सकारात्मक
काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको थियो ।
छलफलपछि पुनले सकारात्मक कुराकानी भएको जानकारी दिए । आज बेलुका पाँच बजेभित्र टोली गठन गर्ने निर्णय भएको छ ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना सुरु गरेका थिए ।
पुनले सरकारले आफ्ना माग पूरा नगरेसम्म सडकमै सुतेर धर्ना दिने घोषणा गरेका थिए । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्ना नरोकिने उनले बताएका थिए । आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको उनले गुनासो गरिरहेका छन् ।