बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा
काठमाण्डौं । आन्तरिक आम्दानीको स्रोत खुम्चँदै गएको अवस्थामा बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा लागेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आव २०८०/ ८१ को बजेटका सीमासहित बजेट निर्माणका लागि आन्तरिक छलफल सुरु गरेको हो ।
११ वटा मन्त्रालय रहेको यस प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका अन्य १० वटा मन्त्रालय र निकायलाई बजेटको सिलिङसमेत पठाएर आगामी बजेटमा समेट्नुपर्ने कार्यव्रmम र योजना माग गरेको छ । प्रदेशको आन्तरिक आम्दानीको स्रोत घटेसँगै प्रदेशको आगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा कम हुने देखिएको छ ।
घरजग्गा कारोबारमा आएको मन्दीका कारण प्रदेशको प्रमुख आम्दानीको स्रोतका रूपमा रहेको मालपोत करमा चालु आर्थिक वर्ष ह्रास आएको छ । यस्तै प्रदेशको आम्दानी अन्य शुल्कसमेत कम सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।
सङ्घीय सरकारबाट प्राप्त हुँदै आएको समानीकरण अनुदान र विभाज्य करबाट आउने राजस्वसमेत आगामी आर्थिक वर्ष कम आउने भएको छ । सङ्घबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटको रकमसमेत कम आउने गरी सीमा तोकेर आएको मन्त्रालयका प्रवक्ता लक्ष्मीकुमार रिमालले जानकारी दिनुभयो । सङ्घबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटको रकमसँगै प्रदेशको आम्दानीको स्रोतसमेत खुम्चने भएपछि प्रदेशको आगामी आर्थिक वर्षको बजेटको आकारसमेत विगतको अनुपातमा नबढ्ने देखिएको छ ।