कालिका मोटरसाइकल पार्ट्सद्वारा थप ६ जना विद्यार्थीको अभिभावकत्व ग्रहण
चितवन , ६ पुष । पूर्वी चितवनको खैरहनीमा रहेको कालिका मोटरसाइकल पार्ट्सले थप ६ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । कालिका मोटरसाइकल पार्ट्सले रत्ननगर नगरपालिका वडा नम्बर ५ मा रहेको झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेको हो ।
यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्ट्सले हरेका मोटरसाइकल तथा स्कुटर बिक्रीबाट पाँच सय रुपैयाँ कालिका यामाहा कोषमा जम्मा गर्ने गरेको छ । सोहि कोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै आएको कालिका यामाहा कोषको निरिक्षक सुजता खनालले जानकारी दिइन् । कालिका मोटरसाइकल पार्ट्सले यसअघि नै ३४ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरिसकेको र आज ६ जना थप भएको कालिका मोटरसाइकल पार्टस्का संचालक उत्तम अधिकारीले बताए ।
झुवानी मा.विमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रुपमा कमजोर ६ जना विद्यार्थीहरुलाई कक्षा १२ सम्मको लागि अभिभावकत्व ग्रहण कालिका मोटरसाइकल पार्ट्सले गरेको हो । अभिभावकत्व ग्रहण गर्ने कार्यक्रममा विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री , विद्यालय पोशाक , जुत्ता , मोजा समेत वितरण गरिएको छ । चारजनाको लागि दुईवटा साइकल समेत वितरण गरिएको छ । टाढाबाट एकैघरका दुई दुईजना विद्यालय आउनुपर्नेहरुलाई साइकल वितरण गरिएको कालिका यामाहा कोषका अध्यक्ष तथा कालिका मोटरसाइकलका संचालक अधिकारीले बताए । अभिभावकत्व ग्रहण गरेको विद्यार्थीहरुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पर्ने विद्यालय पोशाक , जुत्ता , मोजा , कपि , कलम सबै आफूहरुले प्रदान गर्ने अधिकारीले बताए । उनले कक्षा १२ पश्चात् दक्षहरुलाई आफूहरुले नै रोजगारीको अवसर समेत दिने अधिकारीले प्रतिवद्धता व्यक्त गरे ।
अभिभावकत्व ग्रहण तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नविनचन्द्र भट्टराई ,समाजसेवी मुरली प्रसाद गजुरेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खतिवडाले कालिका मोटरसाइकल पार्ट्सले गरेको सहयोगको प्रशंसा गर्दैे पाएको सहयोगको सदुपयोग गर्नुपर्नेमा जोड दिए । उक्त सहयोगले विद्यार्थीको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे ।