सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज होला त फैसला ?
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको फैसला गर्न आज (आइतबार) का लागि पेसी तोकिएको छ ।काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन । यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ । पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन ।