छ महिनामा तीन लाख ४३ हजार बढिले विदेशिन श्रम स्वीकृति लिए
काठमाडौं । पछिल्लो छ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृित लिएको राष्ट्र वैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक आज गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।
यस्तै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसअनुसार सो अवधिमा रेमिट्यान्स रु।७३३ अर्ब २२ करोड पुगेको बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको पनि बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।