गैँडाकोटको अक्सफोर्ड कलेजले आगामी वर्षबाट पत्रकारिता र कानुन पढाउने
नवलपुर, १८ फागुन । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले आगामी शैक्षिक शत्रबाट पत्रकारिता र कानुन विषय पढाउने भएको छ । आज भएको अक्सफोर्ड मिटमा कलेजका प्रिन्सिपल प्राध्यापक इन्जिनियर हरि भण्डारीले शैक्षिक शत्र २०८१ बाट कक्षा ११ मा पत्रकारिता र कानुन विषय पढाउने तयारी गरिएको बताउनुभयो ।
“अक्सफोर्ड कलेजमा सबै विषय पढ्न पाउने वातावरण सिर्जना गर्दैछौँ” उहाँले भन्नुभयो, “आगामी शैक्षिक शत्रबाट कक्षा ११ मा पत्रकारिता र कानुन पढाउने छौँ ।” कलेजले अहिले कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन सङ्कायमा विभिन्न विषय अध्यापन गराउँदै आइरहेको छ । मध्य नेपालकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा अक्सफोर्ड कलेज स्थापना भइरहेको भण्दै भण्डारीले प्ले ग्रुपबाट सबै विषयमा पोस्ट ग्राजुयटसम्मको अध्ययन अक्सफोर्डबाटै गर्न सकिने बताउनुभयो ।
ठूलो संस्था चाँडै धरासायी हुने गरेको भन्दै भण्डारीले संस्था र संस्थासँग आबद्ध सम्पूर्ण प्राध्यापक, कर्मचारी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “हामीसँग धेरै चुनौती छन् सकारात्मक तरिकाबाट चुनौती समाधान गर्न सकिन्छ” उहाँले भन्नुभयो, “अक्सफोर्ड परिवारसँग अन्य विद्यालय, इन्जिनियरिङ संस्था, होटलसहित करिब नौ वटा संस्था आबद्ध रहेका छन् ।”
अक्सफोर्ड मिटमा कलेजले सञ्चालन गरेको राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन संकायका विभागीय प्रमुख हरि थपलियाले अक्सफोर्ड मिट भनेको कलेज सभा जस्तै भएको बताउनुभयो । अलेजले आगामी वर्षका लागि योजना बनाउने, प्राध्यापक र कर्मचारीले आफ्ना भनाइ राख्ने दिन भएको बताउनुभयो । कलेज सभाबाट कलेजको अध्ययन अध्यापनलाई अझ गुणस्तरीय बनाउने एवं आगामी वर्षका लागि रणनीतिक योजना बनाउन मद्दत मिल्ने उहाँको भनाइ थियो ।
सो अक्सफोर्ड मिटका क्रममा प्राध्यापकहरुले देशको आर्थिक अवस्था दयनीय भएको भन्दै देशभित्र केही गर्ने इच्छा राखेका व्यवसायी धराशायी हुँदै गएका बताए । देशको आर्थिक रणनीति राम्रो नहुँदा अर्थतन्त्र खस्किएको भन्दै अक्सफोर्ड कलेजले आफ्नो आर्थिक अवस्था मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । विद्यार्थीको पढाइप्रति प्राध्यापकहरुसमेत सचेत हुनुपर्ने एवं जिम्मेवारी वहन गरेमा शैक्षिक वातावरण राम्रो हुने उनीहरुको भनाइ थियो ।
कलेजका प्रिन्सिपल हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कलेजका सहायक प्रिन्सिपल एवं समग्र कार्यक्रम संयोजक तिलकराम पन्थीले सञ्चालन गर्नुभएको थियो ।