वीरगञ्जमा सुक्न थाल्यो चापाकल, खानेपानीको अभाव
चितवन । वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको चर्को अभाव देखिएको छ । घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ । अहिले कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा नयाँ धारा जडानको लागि निवेदन लिएर आउने गरेका छन् । खानेपानी संस्थान शाखा कार्यालयका वितरण प्रमुख सञ्जीवकुमार यादवले गत वर्षदेखि वीरगञ्ज बजार क्षेत्रका अधिकांश चापाकल सुकेसँगै सर्वसाधारण खानेपानीको लाइन जडान गर्न आउन थालेका बताए ।
‘विगतमा घरमा गाडिएको चापाकलमा पर्याप्त पानी आउँदासम्म खानेपानीको धारा जडानमा स्थानीयवासीको खासै रुचि देखाउँदैन्थे । गत वर्षको हिउँदेयामदेखि चापाकल सुकेर पानीको सङ्कट महसुस गरेपछि अहिले खानेपानी संस्थानमा धारा जोड्नेको घुइँचो नै लाग्ने गरेको छ’, उनले भने । वितरण प्रमुख यादवले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै दुई हजार चार सयभन्दा धेरै नयाँ धारा जडान भएको जानकारी दिए । ‘गत आवको अन्त्यसम्म महानगर क्षेत्रमा आठ हजार चार सय घरधुरी मात्रै ग्राहक थिए’, उनले भने, ‘खानेपानीको चर्को सङ्कट हुन थालेपछि अहिले कूल ग्राहक सङ्ख्या १० हजार आठ सयभन्दा धेरै पुगिसकेको छ ।’
वडा कार्यालयको सिफारिसमा संस्थानले छ हजार तीन सय ७० रुपैयाँ लिएर नयाँ धारा जडान कार्य अघि बढाउँदै आइरहेको छ ।