यी ३७ जिल्लामा आज बाढीको जोखिम
चितवन, २७ असार । नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको मनसुन न्यून चापीय रेखा नेपालतिर सर्न थालेसँगै देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानको मापनमा कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा देखिएकाे दिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै बिहीबार कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम रहेको जनाएकाे छ । महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी (ब.सु.पूर्व), नवलपरासी (ब. सु. पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकाे छ।
यस्तै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूको बहाव बढ्ने तथा केही स-साना नदीहरूमा आकस्मिक बाढी हुन सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएकाे छ ।