दुई गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
चितवन, १६ असोज । मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार आज नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई ल्याइएको हो ।
सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि पाँच दिन अगाडि नै पुगेका इन्द्रसरोवर-३ दाप्राङ घर भएकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटार बस्ने शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौँ ल्याइएको हो । उनले रक्षा मन्त्रालयमार्फत हेलिकप्टरबाट उद्दार गर्न तीन दिन अघिदेखि नै प्रयास गरिरहे पनि आज सफल भएको बताए ।
वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका जोड्ने सबै सडकमार्ग अवरुद्ध रहेको छ । वर्षाले कुलेखानी जलविद्युत केन्द्र भरिएपछि शनिबार बिहान जलाशयको दुई वटा ढोका खोलेर पानी छोड्दा कुलेखानी खोलामा आएको बाढीले सिस्नेरी सडक सञ्जालको सम्पर्कबाट टुटेको छ । सडक नै खोलाले बगाएपछि गर्भवतीलाई थप उपचारका लागि सडक सञ्जालबाट अस्पताल लान सकिएको थिएन ।