लकडाउनमा निशुल्क अनलाइन शिक्षा दिदैं चितवनका उप्रेती
चितवन , ३१ जेठ
देशमा जारी लकडाउनको कारण विद्यालय , कलेजहरु बन्द भएकाले लाखौं विद्यार्थी मारमा परेका छन् । त्यस्तै मारमा परेका विद्यार्थीहरुलाई केहि भएपनि राहत दिनको लागि चितवनका एक शिक्षकले निशुल्क रुपमा अनलाइन कक्षा संचालन गरिरहेका छन् ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ निवासी सन्तोष उप्रेतीले आफूले अध्यापन गराउदै आएको बिषयको कक्षा निशुल्क रुपमा जुम नामक एप्लीकेसन मार्फत संचालन गर्दै आएका छन् । पहिलो चरणमा उनले बिबिएस तेस्रो बर्षका विद्यार्थीहरुको लागि जेठ २५ गतेबाट बिहान ७ं.३० बजे निशुल्क रुपमा फाइनान्स बिषयको कक्षा संचालन गर्दै आएका छन् । फेसबुकमा बिबिएस तेस्रो बर्ष फाइनान्सको निशुल्क अनलाइन कक्षा प्रशिक्षक सन्तोष उप्रेती नामको गु्रप बनाएर जुम र फेसबुक गु्रप दुवैमा अनलाइन कक्षा दिदै आएका हुन् ।
कक्षा सुरु गरेको एकहप्तामा नै ३४ भन्दा बढि जिल्ला करिब एक हजार विद्यार्थी ग्रुपमा आवद्ध भएर कक्षा लिदैं आएको शिक्षक सन्तोष उप्रेतीले जानकारी दिए । विरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, भण्डारा मा.वी. भण्डारा र ईन्टरनेशनल कलेज पर्सा, चितवनमा अध्यापन गराउदै आएका उप्रेतीले लकडाउनको मारमा परेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै कक्षा ११ , १२ , स्नातक तह र स्ताकोत्तरको एकाउन्ट र फाइनान्स बिषयका कक्षा संचालन गर्ने तयारीमा रहेको बताए ।


























