सिकाई सहजीकरणका लागि राप्तीमा अभ्यास सामाग्री वितरण
असार २७ गते । कोरोना भाईरसको संक्रमण पश्चात जारी लकडाउनका कारण पठनपाठन अवरुद्ध भएपछि चितवनको राप्ती नगरपालिकाले वैकल्पिक प्रणाली सिकाई सुरु गरेको छ । नियमित पठनपाठनलाई सहजीकरण गर्न बैकल्पिक प्रणालीबाट विद्यार्थीमा सिकाई सहजीकरणका लागि तयार पारिएको स्वाध्यन तथा अभ्यास सामाग्री वितरण गर्दै वैकल्पिक शिक्षा सुरु गरेको हो । शुक्रवार एक कार्यक्रमको आयोजना गरि नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीका लागि अभ्यास सामाग्री वितरण गरेको स्थानीय शिक्षा अधिकारी शम्भु प्रसाद पौडेलले जानकारी दिए । राप्तीमा ४९ वटा सामुदायिक विद्यालय तथा १० वटा संस्थागत विद्यालय छन् । पहिलो चरणमा बाल विकास कक्षादेखी ५ कक्षा सम्मका विद्यार्थीलाई अभ्यास सामाग्री वितरण गरिएको हो । राप्ती नगरपालिका प्रमुख प्रभा बरालले विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरुलाई अभ्यास सामाग्री वितरण गरेकी थिईन् । सो अवसरमा प्रमुख बरालले विद्यालय वन्द रहेको वर्तमान विषम परिस्थितीमा विद्यार्थीको सिकाईलाई निरन्तरता दिन अभिभावक जिम्मेवार वन्नु पर्ने वताईन् । विद्यालय वन्द रहेपनि नियमित रुपमा कम्तीमा ३ घण्टा विद्यार्थीलाई अध्ययनमा समय दिन प्रमुख बरालले आग्रह गरिन् । विद्यालयलाई हस्तान्तरण गरिएको अभ्यास सामाग्री असार महिना भित्र सवै विद्यार्थीको हातमा पुग्ने र त्यसको १० दिन भित्र अभ्यास पुस्तिका विद्यालयमा वुझाउनु पर्ने हुन्छ । त्यस पछि दोश्रो चरणमा अभ्यास सामाग्री वितरण गरिने स्थानीय शिक्षा अधिकारी पौडेलले वताए । संचार माध्यमको प्रयोग र अनलाईन मार्फत सिकाई प्रणाली प्रभावकारी नभएको पाईएपछि राप्ती नगरपालिकाले अभ्यास सामाग्री वितरण गरेको उनको भनाई छ । उनका अनुसार अध्ययनमा लगाव राख्नका लागि अभ्यास सामाग्रीमा सामान्य विषयवस्तु समेटिएका छन् ।



















