खैरहनीका मह उत्पादक किसानलाई ४ लाख प्रोत्साहन रकम
असार २८ गते । चितवन खैरहनीका मह उत्पादक किसानहरुलाई आईतार प्रतिफलमा आधारित प्रोत्साहन रकम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाद्धारा संचालित मौरी जोन संचालक समितिले यहाँका १६ जना किसानहरुलाई ४ लाख १३ हजार ६ सय रुपैया प्रोत्साहन रकम प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खैरहनी ४ का वडाध्यक्ष देववहादुर वस्नेत,परियोजनाका प्रमुख तिमल्सीनाले माला लगाई चेक हस्तान्तरण गरेका थिए । सो क्रममा एउटै किसानले ६० हजार सम्म रकम प्राप्त गरेका छन् । खैरहनी ४ का सुरेश वस्नेतले १५० घार मौरीबाट उत्पादन गरेका महका आधारमा उनलाई ६० हजार रुपैया प्रदान गरिएको हो । पहिलो पटक मह उत्पादनकै कारण प्रोत्साहन रकम पाएकोमा किसान वस्नेतले खुसी व्यक्त गरे । मौरी जोन लागू भएर सुचिकृत भई ४२.३ किलो मह प्रतिघार प्रतिवर्ष उत्पादन गरेका किसानहरुलाई मात्रै सम्मान सहित प्रोत्साहन रकम प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघना तिमल्सीनाले वताए । सोही अवसरमा ति किसानहरुलाई मह राख्ने फुटग्रेटको वाल्टिन समेत प्रदान गरिएको थियो । मौरी जोन संचालक समितिका अध्यक्ष धर्मराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मौरीपालक महासंघका अध्यक्ष शिव शर्मा पौडेल,परियोजनाका कृषि अधिकृतहरु इन्द्र ढुंगाना,अनिल तिवारी लगायतले मन्तव्य राखेका थिए ।



















