फोनबाट धम्काएर चन्दा माग्ने चितवनका एक सहित चार जना पक्राउ
चितवन , २५ कात्तिक ।
व्यवसायीहरुलाई फोनबाट धम्क्याएर चन्दा माग गर्ने चितवनका एक सहित चार जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका–१३ का ४२ बर्षीय नन्दुराज आचार्य, नुवाकोटको ककनी गाउँपालिका–२ का ३३ बर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछापको सुनापती गाउँपालिका–३ का ३१ बर्षीय रामदल श्रेष्ठ र काभ्रेको तिमाल गाउँपालिका–५ का ५२ बर्षीय तिर्थमान तामाङ रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवन, काठमाडौँको टोलिले सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उपत्यका लगायत विभिन्न स्थानका व्यवसायीहरुलाई फोन गरी विप्वल नेतृत्वको नेकपाको नेता तथा कार्यकर्ता हौँ भनि चन्दा माग गर्ने र माग बमोजिम चन्दा नदिए भौतिक कारबाही गर्ने धम्कि दिने गरेको सूचना आएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले जानकारी दिए । उनीहरु विरुद्ध अपराधिक लाभ लिन नहुने कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद प्राप्त भएको थापाले बताए ।



















