प्रेमबस्ती माविले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस
चितवन, १३ पुष ।
प्रेमबस्ती माविले सोमबार ६३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठले विद्यालयको विकास र शैक्षिक गुणस्तर बृद्धिका लागि सहयोग गर्ने बताए । सांसद श्रेष्ठको पहलमा प्रदेश सरकारले प्रेमबस्ती माविको पूर्वाधार निर्माण गर्न ५० लाख रुपैयाँ दिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पौडेलले गत बर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको विकास तथा शिक्षक कर्मचारीको तलब भत्ता लगायतका लागि अभिभावकबाट प्राप्त चन्दा, शिक्षा कार्यालयबाट प्राप्त अनुदान र धनधान्याचलबाट गरि जम्मा २ करोड ७७ लाख १७ हजार रुपैयाँ प्राप्त भएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भरतपुर महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ चितवनका प्रमुख भुमिलाल सुवेदी र भरतपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष चक्रपाणी सुवेदी लगायत सहभागि थिए । कार्यक्रममा शिक्षक, कर्मचारी, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लगायतलाई सम्मान गरिएको थियो ।



















