चितवनका एसपी गुरुङको सस्तो लोकप्रियाता,प्रदेशले गरेको कामको जस आफैलाई
चितवन, ८ माघ ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले गरेको काममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षकले आफ्नो नाम चर्चामा ल्याउने प्रयास गरेका छन् । आफूले गर्दैै नगरेको कामको जससमेत चितवनका एसपी नान्तिराज गुरुङले लिन खोजेका हुन् ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले मङ्गलबार बेलुका चितवनका तीन जना प्रहरीलाई घुस लिएको आरोपमा पुलचोकबाट नियन्त्रणमा लिएको थियो । प्रदेशबाट खटिएको टोलीले गरेको कामको समेत जस आफूले लिन चितवन प्रहरी प्रमुख गुरुङले आफू निकट केही पत्रकारलाई आफूले गरेको कामको रुपमा चित्रण गर्न लगाएका छन् । उनले आफू निकटका पत्रकारलाई आफ्नो टोलीले नै घुस सहित तीन जना प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै समाचार प्रकाशन गर्न लागएका थिए ।

केही सञ्चारमाध्यममा प्रकाशित समाचार उनी आफैले सामाजिक सञ्जालमा शेयर गरेका छन् भने जिल्ला प्रहरी कार्यालयको आधिकारिक फेसबुक पेजमा समेत शेयर गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले प्रदेशको टोलीले घुससहित प्रहरीलाई पक्राउ गरेको समावेशी खबरलाई जानकारी दिएकी छिन् । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट जारी प्रेस विज्ञप्तिमासमेत प्रष्ट रुपमा प्रदेशको टोलीले रकम सहित तीन जना प्रहरीलाई नियन्त्रणमा लिएको र उनीहरुलाई अनुसन्धानको लागि निलम्बन गरिएको जनाएको छ ।



















