काठमाडौंबाट चोरी भएको मोटरसाईकल चितवनमा फेला
चितवन , २३ जेठ
काठमाडौंबाट चोरी भएको मोटरसाइकल चितवनमा फेला परेको छ । गैडाकोट नगरपालिका वडा नम्बर ५ निवासी सन्देश गौतमको २०७६ साल श्रावण १४ गते काठमाडौंको बौद्धबाट हराएको मोटरसाइकल चितवनमा भेटिएको छ ।

२०७७ चैतमा नियमित चेकजाँचको क्रममा प्रदेश २-०३-००५ प ९८३४ नम्बरको मोटरसाइकल भरतपुरमा प्रहरीले नियन्त्रणमा लिएको थियो । लामो समयसम्म उक्त मोटरसाइकल लिन कोहि नआएपछि अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल चोरी भएको र मोटरसाईकलमा रहेको नम्बर गलत भएको खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक भगवान राज थापाले समावेशी खबरलाई बताए । उक्त मोटरसाइकलको इन्जिन नम्बरको आधारमा हेर्दा उक्त मोटरसाइकलको बास्तविक नम्बर प्रदेश ३-०२-००८ प १६७९ रहेको खुलेको थियो ।
उक्त मोटरसाइकलको सवारीधनी गौतमले प्रिमियर इन्स्योेरेन्सबाट बिमा दावी गरी रकम लिइसकेकोले उक्त मोटरसाइकल प्रिमियर इन्स्योेरेन्स कम्पनीलाई आज हस्तान्तरण गरिएको छ । कम्पनीको नारायणगढ शाखाकाको प्रबन्धक शंकर अधिकारीलाई मोटरसाईकल बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका थापाले बताए ।



















