अब सबै मिलेर काम गरौँ, सरकार बनाउने र ढाल्ने खेलमा नलागौँ : अध्यक्ष ओली
काठमाडौँ, २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अवसरसँगै धेरै चुनौती पनि रहेको बताएका छन ।आजको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अर्थतन्त्र धेरै नै समस्यामा रहेको भन्दै सुझबुझपूर्ण ढङ्गले काम गर्नुपर्ने बताए । अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको, राजस्वकाे सङ्कलन धेरै वर्षपछि ऋणात्मक अवस्थामा रहेकाे, महँगी बढेको, आयात डरलाग्दो र निर्यात टिठलाग्दो अवस्थामा रहेकाे लगायतका समस्या समाधान गर्नुपर्ने दायित्व रहेको ओलीको भनाइ छ । देशले नयाँ परिवर्तन खोजेको सङ्केत चुनावअघि नै देखिएको भन्दै ओलीले नयाँ दल र सांसदले पनि सांसद बन्नकै लागि नभएर नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देशका लागि सँगै काम गरौँ, लेट्स वर्क टुगेदर ।’ अध्यक्ष ओलीले आन्दोलनको असरबाट मुक्त नभएको बताएका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले घाइते, अपांगका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिए । कुर्सीमा मात्रै ध्यान नदिन उनले सासंदहरुलाई आग्रह गरे । अध्यक्ष ओलीले व्यक्तिको मानसम्मानका लागि सरकार बनाउने नभई देश र जनताका लागि सरकार गठन गर्नुपर्ने बताएका छन् । उनले देश र जनताका लागि काम गनुपर्ने दायित्व आफूहरुको भएको बताए ।



















