अतिरिक्त कक्षाको रकम नदिएको भन्दै पञ्चकन्या माविका शिक्षकहरुले एसईईको प्रवेश पत्र नदिएको आरोप
चितवन , १६ चैत । रत्ननगरको एक विद्यालयमा अतिरिक्त कक्षाको रकम नतिरेको भन्दै ५ जना विद्यार्थीहरुलाई एसईईको प्रवेशपत्र नदिएको आरोप लागेको छ । भोलीदेखी सुरु हुन लागेको एसईई परिक्षाको प्रवेश पत्र अतिरिक्त कक्षाको रकम नदिएको निहुँमा पञ्चकन्या माविका पाँचजना विद्यार्थीहरुलाई प्रवेश पत्र नदिएको विद्यार्थी नेताहरुको दावी छ ।
परिक्षाको प्रवेशपत्र नपाएको बिषय अखिल क्रान्तिकारी रत्ननगरका अध्यक्ष चोक बहादुर गुरुङ सहितको समूहले थाहा पाएपछि अवेर राति विद्यालयमा गएर शिक्षकहरुबाट उक्त प्रवेशपत्र लिएर विद्यार्थीहरुको घरघरमा पुर्याएका छन् । विद्यालयमा ५ वटा बिषयको दुई महिना अतिरिक्त कक्षा संचालन भएको र त्यसवाफतको ५ हजार ५ सय रुपैयाँ नदिएको भन्दै विद्यार्थीहरुलाई प्रवेश पत्र नदिएको गुनासो विद्यार्थीबाट आएपछि आफूहरु राति विद्यालय पुगेको अखिल क्रान्तिकारी रत्ननगरका अध्यक्ष चोक बहादुर गुरुङले जानकारी दिए । पैसा नदिएको भन्दै भोलिबाट सुरु हुने परिक्षाको प्रवेशपत्र आज रातिसम्म नदिदाँ विद्यार्थीलाई मानसिक तनाव भएको उनले बताए । यस्तो गैर जिम्मेवार शिक्षकहरुलाई कारबाही हुनुपर्ने उनले माग गरेका छन् ।
केहि विद्यार्थीहरुले प्रवेश पत्र नपाएको कुरा जानकारी पाउना साथ आफू विद्यालयमा गएर सम्बन्धित शिक्षक शिक्षिकाहरुलाई बोलाएर प्रवेश पत्र लिएर विद्यार्थीको घर घरमा पुगेको विद्यालयकी प्रधानाध्यापक अनिता पौडेलले बताईन् । क्रान्तिकारीका विद्यार्थी नेताहरुले जानकारी दिनासाथ उनीहरुसँगै आफूपनि प्रवेश पत्र लिएर अवेर राति विद्यार्थीको घर पुगेको उनले बताइन् । प्रवेश पत्रहरु वितरणको लागि जिम्मा दिएको शिक्षकहरुबाट कमजोरी भएको स्विकार गर्दै प्रधानाध्यापक पौडेलले यसबिषयमा थप बुझ्ने बताइन् ।

























